
इजकिएल 24
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1नवौँ वर्षको दसौँ महिनाको दसौँ दिनमा, याहवेहको वचन मकहाँ आयो:
2“हे मानिसको छोरा, यस दिनलाई लेखिराख्, आजकै दिनलाई लेखिराख्; किनकि बेबिलोनको राजाले आजकै दिन यरूशलेमलाई घेरा हालेको छ।
3यी विद्रोही मनिसहरूलाई एउटा उखान बताइदिएर तिनीहरूलाई भन्: प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘आगोमाथि पकाउने भाँडो राख्; भाँडो राख्, र त्यसमा पानी खन्या।
4भाँडोभित्र मासुका टुक्राहरू हाल्, सबै असल टुक्राहरू—साँप्रो र कुम। भाँडालाई असल हड्डीहरूले भरिदे;
5बगालबाट सबैभन्दा असल पशु छानेर ली। हड्डीहरूका निम्ति भाँडोमुनि दाउराको थुप्रो लगा; मासुका टुक्राहरूलाई उमाल र त्यसमा हड्डीहरू पका।
6“ ‘किनकि प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘रक्तपातको यस सहरलाई धिक्कार, खिया लागिसकेको त्यो भाँडो, जसको थिग्रो त्यसबाट निस्कँदैन! भाँडाबाट जस्तो आउँछ, त्यस्तै मासुका टुक्रा-टुक्रा गरेर निकाल्।
7“ ‘किनकि त्यसले बगाएको रगत त्यसकै बीचमा छ: त्यसले त्यो रगतलाई नाङ्गो चट्टानमाथि खन्याई; तर त्यसले त्यो रगतलाई चाहिँ भुइँमा पोख्न दिइन, जहाँ धुलोले त्यसलाई छोप्न सक्नेथियो।
8क्रोधलाई सुर्याउन र बदला लिन मैले त्यसको रगत नाङ्गो चट्टानमाथि राखिदिएँ, ताकि त्यो नछोपिओस्।
9“ ‘यसकारण प्रभु याहवेह यसो भन्नुहुन्छ: “ ‘धिक्कार यस रक्तपातको सहरलाई! म पनि दाउराको थुप्रो लगाउनेछु।
10यसकारण दाउराको थुप्रो लगा, र आगो बाल्। मासु राम्रोसँग पका, र मसलाहरू राम्ररी मिसा; अनि हड्डीहरू डढून्।
11तब रित्तो भाँडालाई नतात्तिएसम्म र त्यसको तामा तात्तिएर रातो नहोउन्जेल कोइलामाथि राख्, ताकि यसका अशुद्ध कुराहरू पग्लिजाऊन्, र त्यसका थिग्राहरू जलिजाऊन्।
12यसले सबै प्रयासहरूलाई निराश तुल्याइदिएको छ; यसका बाक्लो थिग्राहरू आगोले पनि हटाउन सकिँदैन।
13“ ‘अहिले तेरो अशुद्ध कुराहरू तेरो कामुकता हो। मैले तँलाई शुद्ध गर्ने कोसिस गरेँ, तर तँ आफ्नो अशुद्धताबाट शुद्ध हुनेछैनस्; तेरो विरुद्धमा मेरो क्रोध शान्त नभएसम्म तँ फेरि शुद्ध हुनेछैनस्।
14“ ‘म याहवेहले नै भनेको हुँ। मेरा निम्ति काम गर्ने समय आएको छ। म पछि हट्नेछैनँ; म दया देखाउनेछैनँ, न त म पछुताउनेछु। तेरो चाल र कामहरूअनुसार तेरो न्याय हुनेछ, प्रभु याहवेह भन्नुहुन्छ।’ ”
15याहवेहको वचन मकहाँ आयो:
16“हे मानिसको छोरा, एकै प्रहारमा म तेरो आँखाको खुशीलाई लैजान लागेको छु। तापनि विलाप नगर्, नरो, र तेरा आँखाबाट आँसु नबगा।
17चुपचाप सुस्केरा हाल्; मृतकको निम्ति शोक नगर्। तेरो फेटा बाँधिराख् र तेरा खुट्टामा जुत्ता लगाइराख्; तेरो दाह्री वा जुङ्गालाई नछोप्, न त रीतिअनुसार शोक गर्नेहरूको भोजन खा।”
18यसरी मैले बिहान मानिसहरूसँग भनेँ, र बेलुका मेरी पत्नीको मृत्यु भयो। भोलिपल्ट मलाई आज्ञा गरिएअनुसार मैले गरेँ।
19तब मानिसहरूले मलाई भने, “यी कुराहरूको हामीसित के सम्बन्ध छ र, के तिमी हामीलाई भन्दैनौ?”
20यसकारण मैले तिनीहरूलाई भनेँ, “याहवेहको वचन मकहाँ आयो:
21इस्राएलका मानिसहरूलाई भन्, ‘प्रभु याहवेह यसो भन्नुहुन्छ: म मेरो पवित्रस्थान—जुन किल्लामा तिमीहरू घमण्ड गर्छौ, तिमीहरूका आँखाका खुशी, तिमीहरूले धेरै प्रेम गर्ने स्थानलाई अपवित्र पार्न लागेको छु। तिमीहरूले छोडेका छोराछोरीहरू तरवारद्वारा मारिनेछन्।
22तब तिमीहरूले मैले गरेझैँ गर्नेछौ। तिमीहरूले आफ्ना दाह्री वा जुङ्गालाई छोप्नेछैनौ, न त रीतिअनुसार शोक गर्नेहरूका भोजन खानेछौ।
23तिमीहरूले तिमीहरूका फेटा आफ्ना शिरमाथि नै राख्नेछौ, र तिमीहरूका जुत्ता खुट्टामा लगाएकै हुनेछौ। तिमीहरूले शोक गर्नेछैनौ अथवा रुनेछनौ, तर आफ्ना पापको कारण तिमीहरू सुक्दै जानेछौ र आफैँभित्र सुस्केरा हाल्नेछौ।
24इजकिएल तिमीहरूका निम्ति एउटा चिन्ह हुनेछ; त्यसले गरेझैँ तिमीहरूले गर्नेछौ। जब यो कुरा हुन्छ, तब तिमीहरूले म नै प्रभु याहवेह हुँ भनी जान्नेछौ।’
25“अनि हे मानिसको छोरा, मैले तिनीहरूको किल्ला, तिनीहरूको आनन्द र गौरव, तिनीहरूका आँखाको खुशी, तिनीहरूको हृदयले चाहना गर्ने स्थान र तिनीहरूका छोराछोरीहरू पनि लगेको दिन;
26त्यस दिन एक जना भागेर बाँचेको व्यक्ति तँकहाँ समाचार दिन आउनेछ।
27त्यस बेला तेरो मुख खोलिनेछ; तँ त्यससित बोल्नेछस्, र फेरि कहिल्यै चुपचाप रहनेछैनस्। यसरी तिनीहरूका निम्ति तँ एउटा चिन्ह हुनेछस्, र तिनीहरूले म नै याहवेह हुँ भनी जान्नेछन्।”
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.