Israel gathered behind the boundary at Mount Sinai as Moses ascends toward the cloud and fire

प्रस्थान 19

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1इस्राएलीहरूले इजिप्ट छोडेको तेस्रो महिनाको पहिलो दिन, त्यही दिन तिनीहरू सीनैको उजाडस्थानमा आइपुगे।
2इस्राएलीहरू रेफिदीमबाट हिँडेपछि सीनैको उजाडस्थानमा प्रवेश गरे, र तिनीहरूले त्यही पर्वतको सामु उजाडस्थानमा पाल टाँगेर बसे।
3तब मोशा माथि डाँडामा परमेश्‍वरलाई भेट्न गए; अनि याहवेहले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकोबको घरानालाई भन्‍नुपर्ने र इस्राएलका मानिसहरूलाई बताउनुपर्ने यही हो:
4‘मैले इजिप्टलाई के गरेँ, मैले कसरी तिमीहरूलाई गरुडहरूझैँ पखेटामा उडाएर मकहाँ ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।
5अब यदि तिमीहरूले मैले भनेको कुरा सुन्यौ, र मेरा करारहरू पूर्ण पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरू मेरा निज धन हुनेछौ। सारा पृथ्वी मेरै हुन्।
6तिमीहरू मेरा निम्ति पुजारीहरूको एउटा राज्य र एउटा पवित्र जाति हुनेछौ।’ तैँले इस्राएलीहरूलाई भन्‍नुपर्ने कुराहरू यिनै हुन्।”
7मोशा फर्किएर मानिसहरूका प्रधानहरूलाई बोलाइपठाए, र याहवेहले तिनलाई आज्ञा गर्नुभएका सबै कुराहरू तिनीहरूका सामु राखिदिए।
8ती सबै मानिसहरूले एकसाथ जवाफ दिए, “याहवेहले भन्‍नुभएका सबै कुराहरू हामी गर्नेछौँ।” यसकारण मोशाले तिनीहरूका जवाफ याहवेहकहाँ आएर सुनाए।
9याहवेहले मोशालाई भन्‍नुभयो, “म बाक्लो बादलमा तँकहाँ आउनेछु; मानिसहरूले म तँसित कुरा गरेको सुनून्, र तिनीहरूले सधैँ आफ्ना भरोसा तँमाथि राखून्।” तब मोशाले याहवेहलाई मानिसहरूले भनेका कुरा भनिदिए।
10याहवेहले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ गएर तिनीहरूलाई आज र भोलि शुद्ध पार्। तिनीहरूले आफ्ना वस्त्र धोऊन्,
11अनि तेस्रो दिनको लागि तिनीहरू तयार रहून्; किनकि त्यस दिन याहवेह सबै मानिसहरूका आँखाका सामु सीनै पर्वतमाथि ओर्लिआउनुहुनेछ।
12पर्वतको चारैतिर मानिसहरूका लागि सिमाना लगाएर तिनीहरूलाई यसो भन्‍नू, ‘होशियार रहो, पर्वतमाथि नचढ्नू र त्यसको फेद पनि नछुनू। जसले यस पर्वतलाई छुन्छ, त्यो निश्‍चय मारिनेछ।
13त्यसलाई कसैले पनि नछुनू। तर त्यसलाई ढुङ्गाले हानेर अथवा काँडले छेडेर मार्नू। मानिस होस् वा पशु, त्यो जीवित रहनेछैन।’ केवल तुरही फुकेको आवाज सुनेपछि मात्र तिनीहरू पर्वतको नजिक जाऊन्।”
14मोशा पर्वतबाट तल मानिसहरूकहाँ ओर्लेर आएपछि तिनले उनीहरूलाई शुद्ध पारे; अनि तिनीहरूले आफ्ना वस्त्रहरू धोए।
15तब तिनले मानिसहरूलाई भने, “आफूलाई तेस्रो दिनको लागि तयार पार्नू। यौन सम्बन्धबाट अलग रहनू।”
16तेस्रो दिनको बिहान गर्जन भयो, बिजुली चम्क्यो र पर्वतमा बाक्लो बादल देखियो; अनि अति चर्को आवाजले तुरही बजेको आवाज सुनियो। छाउनीमा भएका हरेक व्यक्ति थरथर कामे।
17तब मोशाले मानिसहरूलाई परमेश्‍वरसित भेट्न छाउनीबाहिर निकालेर ल्याए; अनि तिनीहरू पर्वतको फेदमा उभिए।
18सीनै पर्वत धुवैँधुवाँले भरिएको थियो; किनकि याहवेह त्यहाँ आगोमा भई ओर्लनुभएको थियो। त्यहाँ इँटाभट्टाको धुवाँझैँ मुस्लो उठिरहेको थियो; अनि सम्पूर्ण पर्वत जोडसित काम्यो,
19र तुरहीको आवाज झन्-झन् चर्को हुँदैगयो। तब मोशा बोले, र परमेश्‍वरको आवाजले तिनलाई जवाफ दियो।
20याहवेह सीनै पर्वतको टाकुरामा ओर्लनुभयो; र मोशालाई पर्वतको टाकुरामा बोलाउनुभयो। यसकारण मोशा माथि गए,
21अनि याहवेहले मोशालाई भन्‍नुभयो, “तल गएर मानिसहरूलाई चेतावनी दे, र याहवेहलाई हेर्न भनी तिनीहरू जबरजस्ती नआऊन्, र तिनीहरूमध्ये धेरै नमरून्।
22याहवेहको नजिकमा आउने पुजारीहरू समेतले आफूलाई शुद्ध पारून्, नत्रता याहवेहले तिनीहरूलाई नाश गर्नुहुनेछ।”
23मोशाले याहवेहलाई भने, “मानिसहरू सीनै पर्वतमाथि आउन सक्दैनन्; किनकि तपाईंले हामीलाई ‘पर्वतका चारैतिर सिमाना लगाएर त्यसलाई पवित्र गरी अलग गर्नू’ भनी चेतावनी दिनुभएको छ।”
24याहवेहले जवाफ दिनुभयो, “तल गएर हारूनलाई तँसित माथि लिएर आइज; तर पुजारीहरू र मानिसहरू याहवेहकहाँ जबरजस्ती गरेर नआऊन्; नत्रता उहाँले तिनीहरूलाई नाश गर्नुहुनेछ।”
25यसकारण मोशा तल मानिसहरूकहाँ ओर्लेर गए, र तिनीहरूलाई यी कुरा भनिदिए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.