Haman leading Mordecai on the royal horse past an open blank chronicle

एस्तर 6

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1त्यस रात राजा सुत्नै सकेनन्; यसकारण तिनले आफ्नो शासनकालको ऐतिहासिक विवरणहरूको पुस्तक पढेर सुनाउने हुकुम गरे।
2अनि त्यस विवरणमा राजा अहासूरसको विरुद्ध षड्यन्त्र रचेर राजालाई मार्न खोज्ने द्वारपालहरू, बिग्थाना र तेरेशको योजनाको बारेमा मोर्दकैले बताइदिएको विषयमा लेखिएको थियो।
3अनि राजाले सोधे, “यस कामका लागि मोर्दकैलाई कुन सम्मान र कस्तो इनाम दिइयो त?” तब तिनका सेवकहरूले जवाफ दिए, “तिनका निम्ति केही पनि गरिएको छैन।”
4अनि राजाले सोधे, “चोकमा को छ?” त्यस बेला हामान मोर्दकैलाई झुण्ड्याउन तयार पारेको फाँसीको काठको विषयमा राजासित कुरा गर्न भनी राजमहलको बाहिरी चोकभित्र प्रवेश गरेका थिए।
5यसकारण राजाका सेवकहरूले तिनलाई भने, “चोकमा हामान उभिरहेका छन्।” राजाले आदेश दिए, “तिनलाई भित्र ल्याऊ।”
6जब हामान भित्र पसे, तब राजाले तिनलाई सोधे, “राजाले सम्मान दिन चाहेको मानिसलाई के गरिनुपर्छ?” हामानले मनमनै सोचे, “राजा मबाहेक अरू कसलाई सम्मान दिन इच्छुक हुनुभएको होला र?”
7यसकारण तिनले राजालाई जवाफ दिए, “जुन मानिसलाई सम्मान दिन राजा इच्छुक हुनुहुन्छ,
8उहाँले लगाउनुभएको राजकीय वस्त्र ल्याइयोस्, उहाँ सवार हुनुहुने घोडा र शिरमा लगाइएको मुकुट ल्याइयोस्।
9त्यसपछि त्यो वस्त्र र त्यो घोडा राजाका मुख्य राजकुमारहरूमध्ये एक जनाको जिम्मामा दिइयोस्। तिनीहरूले राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई त्यो वस्त्र पहिर्‍याइदेऊन्; अनि तिनलाई त्यस घोडामाथि सवार गराएर सहरका सडकहरूमा डोर्‍याऊन्, र तिनको अगि-अगि यसो भनेर घोषणा गर्दै जाऊन् ‘राजाले सम्मान दिन चाहेका मानिसलाई यसै गरिन्छ।’ ”
10तब राजाले हामानलाई आज्ञा दिए, “झट्टै गएर वस्त्र र घोडा ल्याऊ, र तिमीले सल्‍लाह दिएअनुसार राजाको मूलढोकामा बसिरहेका यहूदी मोर्दकैको निम्ति त्यसै गर। तिमीले सिफारिस गरेका कुनै पनि कुरा नछोड्नू।”
11यसकारण हामानले त्यो वस्त्र र त्यो घोडा ल्याए। तिनले मोर्दकैलाई वस्त्र पहिर्‍याए; अनि घोडामा चढाएर सहरका सडकहरूमा, “राजाले सम्मान दिन इच्छुक हुनुभएको मानिसलाई यस्तै गरिन्छ!” भन्दै घोषणा गर्दै डोर्‍याए।
12त्यसपछि मोर्दकै राजाको मूलढोकामा फर्किआए। तर हामानचाहिँ शोकले झुकेको शिर छोपेर हतार-हतार गर्दै घरतिर गए।
13अनि आफ्नी पत्नी जेरेश र आफ्ना सबै साथीहरूलाई तिनीमाथि भएका सबै कुरा बताए। तिनका सल्‍लाहकारहरू र तिनकी पत्नी जेरेशले तिनलाई भने, “मोर्दकै, जसको सामु तपाईंको पतन सुरु भएको छ, तिनी जन्मजात यहूदी भएका कारण तपाईं तिनको विरुद्ध खडा रहन सक्नुहुन्‍न। तपाईंको विनाश निश्‍चित छ!”
14तिनीहरू हामानसित कुरा गरिरहेकै बेला राजाका नपुंसकहरू आए; अनि एस्तरले तयार पारेको भोजमा तिनलाई लगिहाले।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.