
प्रेरितहरू 6
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1ती दिनहरूमा जब चेलाहरूको संख्या बढिरहेको थियो, तब हिब्रूभाषी यहूदीहरूका विरुद्ध ग्रीकभाषी यहूदीहरूले गनगन गरे। किनकि दैनिक भोजन वितरण गरिँदा तिनीहरूका विधवाहरूको बेवास्ता गरिएको थियो।
2त्यसैले बाह्रै जना प्रेरितहरूले सबै चेलाहरूलाई भेला गराएर भने, “परमेश्वरको वचनको प्रचार गर्न छोडेर भोजनको सेवामा लाग्नु हाम्रा निम्ति उचित होइन।
3दाजुभाइ-दिदीबहिनीहरू हो, आफ्ना बीचबाट पवित्र आत्मा र बुद्धिले भरिएका अनि सबैको आदर पाएका सात जना मानिसहरूलाई छान, जसलाई हामीले यस काममा नियुक्त गरौँ।
4अनि हामी हाम्रो ध्यान प्रार्थना र वचनको प्रचारमा केन्द्रित गर्न सक्छौँ।”
5यो प्रस्तावले समूहका सबैलाई खुशी तुल्यायो। अनि पवित्र आत्मा र विश्वासले भरिपूर्ण भएका स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र एन्टिओखियाका यहूदी धर्म अपनाएका शिक्षित निकोलाउसलाई तिनीहरूले छाने।
6छनौट गरिएका ती मानिसहरूलाई तिनीहरूले प्रेरितहरूसामु उपस्थित गराए। अनि प्रेरितहरूले प्रार्थना गरेर तिनीहरूका शिरमाथि आफ्ना हात राखे।
7यसरी परमेश्वरको वचन फैलिँदै गयो, र यरूशलेममा चेलाहरूको संख्या तीब्रताका साथ बढ्दैगयो। पुजारीहरूमध्ये धेरै जनाले यस विश्वासलाई ग्रहण गरे।
8परमेश्वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे।
9तर त्यस समयमा स्वतन्त्र दलका सभाघर (यसको नाम यही थियो) भनिने सभाका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले।
10तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्।
11त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।”
12त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए।
13तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ।
14‘नासरतका येशूले यो स्थान नष्ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।”
15महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।
Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.