Paul beside a Maltese fire before island families receive care and visitors gather at his Roman lodging

प्रेरितहरू 28

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1सुरक्षितसाथ किनारमा पुगेपछि हामीले थाहा पायौँ, त्यो टापुको नाम माल्टा रहेछ।
2टापुका बासिन्दाहरूले हामीप्रति अद्‌भुत दया देखाए। पानी परिरहेको र जाडो भएकोले तिनीहरूले आगो बालेर हाम्रो स्वागत गरे।
3जब पावलले एक बिटा दाउरा जम्मा गरेर त्यसलाई बलिरहेको आगोमा हाले, तब आगोको रापले एउटा विषालु सर्प निस्क्यो र तिनको हातमा बेह्रियो।
4जब टापुका बासिन्दाहरूले तिनको हातमा सर्प बेह्रिएर झुण्डिएको देखे, तब तिनीहरू एक-अर्कासँग भन्‍न थाले, “यो मानिस पक्‍कै पनि हत्यारा हुनुपर्दछ; किनकि समुद्रको सङ्कटबाट उम्के तापनि न्यायकी देवीबाट अब यो बाँच्नेछैन।”
5तर पावलले आफ्ना हात झट्कारेर सर्पलाई आगोमा फालिदिए र उनलाई कुनै हानि भएन।
6मानिसहरूले तिनको शरीर सुनिएर वा अकस्मात् भुइँमा लडेर मर्लान् भनी ठानेका थिए; तर धेरै बेरसम्म पर्खिंदा पनि उनलाई त्यस्तो कुनै बिगार नभएको देखेपछि तिनीहरूको सोच बदलियो र उनलाई देवता भन्‍न थाले।
7त्यस ठाउँ नजिकै पोब्लियसको जग्गाजमिन थियो, जो त्यस टापुका मुखिया थिए। तिनले आफ्नो घरमा हामीलाई निम्तो गरे र तीन दिनसम्म मित्रभावसहित पाहुनासत्कार गरे।
8तिनका बुबा आउँमासी र ज्वरोले गर्दा बिछ्यौनामा परेका थिए। तिनलाई हेर्न पावल भित्र कोठामा गए, र त्यहाँ प्रार्थना गरेपछि तिनले आफ्नो हात बिरामीमाथि राखेर तिनलाई निको पारे।
9यो घटना भएपछि त्यस टापुका अरू सबै बिरामीहरू उनीकहाँ आए, र तिनीहरू पनि निको पारिए।
10तिनीहरूले धेरै तरिकाबाट हाम्रो सम्मान गरे; र जब हामी यात्राका निम्ति तयार भयौँ, तिनीहरूले हामीलाई यात्रामा चाहिने जति सामानहरू पनि दिए।
11तीन महिनापछि यसै टापुमा हिउँद काट्न आएको एउटा जहाजमा हामी चढ्यौँ। त्यो जहाज अलेक्जेन्ड्रियाको थियो, जसको अगिल्‍लो भागमा कास्टर र पोल्‍लुक्स जुम्ल्याहा देवहरूको मूर्ति खोपिएको थियो।
12सुराकुसाईमा पुगेपछि त्यहाँ हामी तीन दिन बस्यौँ।
13त्यहाँबाट आफ्नो यात्रा अगाडि बढाउँदै हामी रेगियन आइपुग्यौँ। भोलिपल्ट दक्षिणी बतास बग्यो र अर्को दिन हामी पटिओली आइपुग्यौँ।
14त्यहाँ हामीले केही विश्‍वासीहरूलाई भेट्यौँ, तिनीहरूले हामीलाई एक हप्‍ता बस्‍ने निम्तो दिए; र यसरी हामी रोम आइपुग्यौँ।
15त्यहाँका दाजुभाइ-दिदीबहिनीहरूले हाम्रो आगमनका बारेमा सुनेका थिए। त्यसैले हामीलाई भेट्न अप्पियसको बजार र तीन-पाटी भनिने ठाउँसम्म तिनीहरू आए। यी मानिसहरूलाई देखेर पावलले परमेश्‍वरलाई धन्यवाद चढाए, र प्रोत्साहित भए।
16जब हामी रोम सहर प्रवेश गर्‍यौँ, तब एउटा सिपाहीको रेख-देखमा पावललाई अलग्गै बस्‍ने अनुमति मिल्यो।
17तीन दिनपछि पावलले त्यहाँका स्थानीय यहूदी अगुवाहरूलाई बोलाए। जब तिनीहरू सबै जना जम्मा भए, तब पावलले तिनीहरूलाई भने: “मेरा दाजुभाइ-दिदीबहिनीहरू, मैले हाम्रा मानिसहरूका विरुद्धमा वा हाम्रा पुर्खाहरूको रीतिथितिका विरुद्धमा केही पनि गरेको थिइनँ; तर पनि म यरूशलेममा समातिएँ र रोमीहरूलाई सुम्पिइएँ।
18तिनीहरूले मेरो जाँच गरे, र छोडिदिने विचार गरे; किनभने मृत्युको सजाय पाउने खालको अपराध मैले गरेको थिइनँ।
19तर यहूदीहरूले यसको विरोध गरेपछि सिजरकहाँ उजुर गर्न म बाध्य भएँ। मैले मेरा आफ्नै मानिसहरूका विरुद्धमा कुनै किसिमको आरोप लगाउन खोजेको थिइनँ।
20यसैकारण तपाईंहरूसँग भेटेर कुराकानी गर्न मैले तपाईंहरूलाई बोलाएको हुँ; किनभने म इस्राएलको आशाको कारण यस साङ्लोले बाँधिएको छु।”
21तिनीहरूले जवाफ दिए, “तपाईंको विषयमा लेखिएको कुनै पनि पत्र हामीले यहूदियाबाट पाएका छैनौँ र त्यतातिरबाट आउने कुनै पनि हाम्रो मानिसले तपाईंका बारेमा बयान दिएको वा कुनै पनि खराब कुरा भनेको छैन।
22तर पनि तपाईंका धारणाहरू हामी सुन्‍न चाहन्छौँ; किनकि यस पन्थका विरुद्धमा मानिसहरू जताततै कुरा गरिरहेका छन्।”
23तिनीहरूले पावलसँग भेट्ने दिन तोके, र त्यस दिन पहिलेको भन्दा पनि ठूलो संख्यामा मानिसहरू पावलको बासस्थानमा आए। उनले तिनीहरूलाई बिहानदेखि साँझसम्म गवाही दिँदै परमेश्‍वरको राज्यको वर्णन गरे। अनि मोशाको व्यवस्था र अगमवक्ताहरूका पुस्तकबाट तिनीहरूलाई येशूप्रति विश्‍वास दिलाउने प्रयत्न गरे।
24उनले भनेका ती कुराहरूमा कतिले विश्‍वास गरे, र कतिले विश्‍वास गरेनन्।
25तिनीहरू आपसमै यस विषयमा असहमत भएर त्यहाँबाट हिँड्न थाले। त्यो देखेर पावलले यसरी आफ्नो अन्तिम वक्तव्य दिए: “पवित्र आत्माले तपाईंका पितापुर्खाहरूलाई सत्य भन्‍नुभएको थियो, जब उहाँले यशैया अगमवक्ताद्वारा बोल्नुभएको थियो:
26“ ‘यी मानिसहरूकहाँ जा र भन्, “तिमीहरू सुनिरहन्छौ, तर कहिल्यै बुझ्दैनौ; तिमीहरू सदा देख्छौ, तर कहिल्यै चिन्दैनौ।”
27किनकि यी मानिसहरूका हृदय कठोर भएका छन्; आफ्ना कानले तिनीहरू मुस्किलले सुन्छन्, र तिनीहरूले आफ्ना आँखा बन्द गरेका छन्; नत्रता तिनीहरूले आफ्ना आँखाले देख्नेथिए, आफ्ना कानले तिनीहरू सुन्‍नेथिए, आफ्ना हृदयले बुझ्नेथिए र मतिर फर्कनेथिए, र म तिनीहरूलाई निको पार्नेथिएँ।’
28“त्यसकारण तपाईंहरूलाई यो कुरा थाहा होस् भन्‍ने म चाहन्छु, कि परमेश्‍वरको मुक्ति गैरयहूदीहरूका निम्ति पठाइएको छ; अनि तिनीहरूले यो स्वीकार गर्नेछन्।”
29पावलको मुखबाट निस्केका यी अन्तिम वचनहरू सुनेपछि आपसमा ठूलो वाद-विवाद गर्दै ती यहूदीहरू त्यहाँबाट बिदा भए।
30दुई वर्षसम्म पावल रोममा नै आफैँले भाडामा लिएको घरमा बसे, र तिनलाई भेट्न आउने जति सबै जनालाई तिनले स्वागत गरे।
31उनले निर्भयताका साथ र कुनै बाधाविना परमेश्‍वरको राज्यको प्रचार गरे, र प्रभु येशू ख्रीष्‍टको बारेमा शिक्षा दिए।

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.