Samuel speaking before Israel and Saul as a thunderstorm crosses wheat fields

1 शमूएल 12

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण
1तब शमूएलले सारा इस्राएलीहरूलाई यसो भने, “तिमीहरूले मलाई भनेका हरेक कुरा मैले सुनेको छु, र तिमीहरूमाथि राजा नियुक्त गरिदिएको छु।
2अब तिमीहरूका अगुवाको रूपमा एक जना राजा छन्। म वृद्ध भइसकेको छु, र मेरो कपाल सेतै फुलिसकेको छ; अनि मेरा छोराहरू तिमीहरूसँग यहीँ छन्। मेरो युवाअवस्थादेखि आजसम्म नै म तिमीहरूका अगुवा रहेको छु।
3म यहीँ खडा छु। याहवेह र उहाँको अभिषिक्त जनको उपस्थितिमा अब मेरो बारेमा साक्षी देऊ। मैले कसैको गोरु अथवा गधा लिएको छु? मैले कसैलाई ठगेको छु? मैले कसैलाई दमन गरेको छु? न्याय बिगार्नलाई मैले कसैको हातबाट घूस लिएको छु? यदि मैले यी कुनै पनि कुराहरू गरेको छु भने म त्यसको क्षतिपूर्ति दिनेछु।”
4अनि तिनीहरूले जवाफ दिए, “तपाईंले हामीलाई ठग्नुभएको छैन; न त दमन गर्नुभएको छ। तपाईंले कसैको हातबाट केही पनि लिनुभएको छैन।”
5तब शमूएलले इस्राएलीहरूलाई भने, “मेरा हात शुद्ध छन् भनी आजको दिन याहवेह र उहाँका अभिषिक्त जन साक्षी हुनुहुन्छ।” “उहाँ साक्षी हुनुहुन्छ,” तिनीहरूले भने।
6तब शमूएलले मानिसहरूलाई भने, “याहवेह, जसले मोशा र हारूनलाई नियुक्त गर्नुभयो। अनि तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट निकालेर बाहिर ल्याउनुभयो।
7अब यहाँ खडा होओ; किनकि तिमीहरू र तिमीहरूका पितापुर्खाहरूका निम्ति याहवेहले गर्नुभएका सबै धार्मिक कामहरूका आधारमा म याहवेहको सामु तिमीहरूको सामना गर्नेछु।
8“याकोब इजिप्टमा प्रवेश गरेपछि तिनीहरूले सहायताका निम्ति याहवेहसँग पुकार गरे। अनि याहवेहले मोशा र हारूनलाई पठाउनुभयो, जसले तिमीहरूका पितापुर्खाहरूलाई इजिप्टबाट बाहिर निकालेर यहाँ बसोबास गराए।
9“तर तिनीहरूले याहवेह तिनीहरूका परमेश्‍वरलाई बिर्सेका कारण उहाँले तिनीहरूलाई हासोरको फौजका सेनापति सीसरा, पलिश्ती र मोआबका राजाको हातमा बेचिदिनुभयो; जसले तिनीहरूको विरुद्धमा लडाइँ गरे।
10तिनीहरूले याहवेहलाई पुकारेर भने, ‘हामीले पाप गरेका छौँ। हामीले याहवेहलाई त्यागेर बालका र अश्तोरेतका मूर्तिहरूलाई आराधना गर्‍यौँ। तर अब हामीलाई हाम्रा शत्रुहरूबाट बचाउनुहोस्। अनि हामी तपाईंको आराधना गर्नेछौँ।’
11अनि याहवेहले यरूब-बाल, बाराक, यिप्‍ताह र शमूएललाई पठाउनुभयो। अनि उहाँले तिमीहरूका चारैतिर भएका शत्रुहरूका हातबाट तिमीहरूलाई छुटाउनुभयो, र त्यसैले तिमीहरू सुरक्षित रह्‍यौ।
12“तर जब तिमीहरूले अम्मोनीहरूका राजा नाहाशलाई तिमीहरूको विरुद्धमा आइरहेका देख्यौ, तब तिमीहरूले मलाई भन्यौ, ‘अहँ, हामीमाथि शासन गर्न हामीलाई राजा चाहिन्छ,’ यद्यपि याहवेह तिमीहरूका परमेश्‍वर तिमीहरूका राजा हुनुहुन्थ्यो।
13अब तिमीहरूले चुनेका र मागेका राजा यहाँ छन्। हेर, याहवेहले तिमीहरूमाथि राजा नियुक्त गर्नुभएको छ।
14यदि तिमीहरूले याहवेहको डर मान्यौ, उहाँको सेवा गर्‍यौ, र आज्ञाकारी भयौ र उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भएनौ भने तिमीहरू सबैले तिमीहरूमाथि शासन गर्ने राजा र याहवेह तिमीहरूका परमेश्‍वरलाई पछ्यायौ भने असल हुनेछ!
15तर यदि तिमीहरूले याहवेहमा आज्ञाकारी भएनौ भने, र यदि तिमीहरूले उहाँका आज्ञाहरूको विरुद्धमा विद्रोही भयौ भने उहाँका हात तिमीहरूका पितापुर्खाहरूका विरुद्धमा उठेझैँ तिमीहरूका विरुद्धमा पनि उठ्नेछ।
16“त्यसो भए अब स्थिर रहो, र याहवेहले तिमीहरूका आँखाकै सामु गर्न लाग्नुभएको महान् कामलाई हेर!
17के अहिले गहुँको कटनीको समय होइन र? गर्जनसहितको झरी पठाउनुहोस् भनी म याहवेहसँग पुकार गर्नेछु। अनि तिमीहरूले राजा मागेर याहवेहको दृष्‍टिमा कति ठूलो दुष्‍ट काम गरेका रहेछौ भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ।”
18त्यसपछि शमूएलले याहवेहसँग पुकार गरे; अनि त्यसै दिन याहवेहले गर्जनसहितको वर्षा पठाउनुभयो। यसकारण सबै मानिसहरू याहवेह र शमूएलसँग साह्रै भयभीत भए।
19तब सबै मानिसहरूले शमूएललाई भने, “हामीहरू नमरौँ भनी याहवेह तपाईंका परमेश्‍वरसित बिन्ती गरिदिनुहोस्। किनकि राजा मागेर हामीले आफ्ना अरू पापहरूमाथि अझै अर्को पाप थपेका छौँ।”
20शमूएलले जवाफ दिए, “भयभीत नहोओ। तिमीहरूले यी सबै दुष्‍ट काम गरेका छौ; तापनि याहवेहबाट तर्केर नजाओ, तर आफ्ना सम्पूर्ण हृदयले याहवेहको सेवा गर।
21व्यर्थका मूर्तिहरूको पछि नलाग। तिनीहरूले तिमीहरूको केही भलो गर्न सक्दैनन्, न त तिनीहरूले तिमीहरूलाई बचाउन नै सक्छन्। किनकि तिनीहरू व्यर्थका छन्।
22आफ्नो महान् नामको खातिर याहवेहले तिमीहरूलाई त्याग्नुहुनेछैन; किनकि याहवेहले तिमीहरूलाई आफ्नै निज प्रजा तुल्याउन प्रसन्‍न हुनुहुन्छ।
23मेरो विषयमा भन्‍नुपर्दा—तिमीहरूका निम्ति प्रार्थना गर्न छोडेर याहवेहको विरुद्धमा पाप गर्ने कुरा मबाट टाढै रहोस्। अनि म तिमीहरूलाई असल र ठिक मार्ग सिकाउनेछु।
24तर निश्‍चित रूपमा याहवेहको डर मान र तिमीहरूका सारा हृदयले विश्‍वासयोग्य भएर उहाँको सेवा गर; उहाँले तिमीहरूका निम्ति गर्नुभएका महान् कार्यहरूको विचार गर।
25तर यदि तिमीहरूले दुष्‍ट काम रहिरह्‍यौ भने तिमीहरू र तिमीहरूका राजा दुवै नष्‍ट हुनेछौ।”

Biblica® नेपाली समकालीन सर्वसुलभ संस्करण — CC BY-SA 4.0. Where these translations come from.

Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc. Available free at biblica.com and open.bible. Text unchanged, used under CC BY-SA 4.0.